• नेपालमा कोभिडका सङ्क्रमित ‘कम’ तर आईसीयू र भेन्टिलेटरमा बिरामी बढ्दो क्रममा किन?

    नेपालमा कोभिडका सङ्क्रमित ‘कम’ तर आईसीयू र भेन्टिलेटरमा बिरामी बढ्दो क्रममा किन?

    नेपालमा कोभिडका कारण अझै मानिसहरू भेन्टिलेटर र सघन उपचार कक्ष (आईसीयू)मा रहनुपर्ने अवस्था देखिनु ज्येष्ठ उमेर समूह र दीर्घ रोगीहरूका लागि विशेष सजगता अपनाउनुपर्ने चेतावनी रहेको सङ्क्रामक रोग विज्ञहरूले बताएका छन्।

    खोप लगाइसकेका अधिकांशलाई गम्भीर समस्या नदेखिने भएकाले मानिसहरूले सङ्क्रमणलाई सामान्यरूपमा लिन थाल्दा कहिलेकाहीँ ‘दुर्भाग्यपूर्ण अवस्था’ आउनसक्ने स्वास्थ्यकर्मीहरूको चेतावनी छ।

    बीबीसीसँग कुरा गरेका विज्ञहरूले सरकारी आकडामा केही दर्जनको सङ्ख्या देखिए पनि अहिले परीक्षण नगराउने हजारौँका सङ्ख्यामा सङ्क्रमितहरू समुदायमा रहेको हुनसक्ने आकलन गरेका छन्।

    एकजना सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले सङ्क्रमितका नाममा जे जति सङ्ख्या आएका छन् ती गम्भीर अवस्था देखिएपछि गरिएका परीक्षणका नतिजा मात्र भएको हुनसक्ने ठान्छन्।

    सोमवार नयाँ सङ्क्रमितको सङ्ख्या १०० नाघेको सरकारी विवरण रहेको छ भने भेन्टिलेटरमा ४ र आईसीयूमा १० जना बिरामीहरू छन्।

    सरकारले पछिल्लो पटक चैत महिनामा देशभरबाट र्‍यान्डम स्याप्लिङ विधिबाट सङ्कलन गरेका नमुनामा सबै ओमिक्रोन भेरिअन्ट पाइएका थिए।

    त्यसमा आधाजसो हाल भारतमा फैलिरहेको ओमिक्रोनको उपभेरिअन्ट एक्सबीबी.१.१६ पुष्टि भएको थियो।

    लाइन
    लाइन

    जोखिममा को छन्?

    कोभिड

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुनका अनुसार हाल बिरामीहरूमा ढाड वा पूरै जिउ दुख्ने समस्या देखिएको छ।

    उनले दुखाइ र कमजोरी तथा रिँगटा लाग्ने समस्या समेत पुनः युवा बिरामीमै देखिन थालेको सुनाउँछन्।

    “त्यही समस्या वृद्ध वृद्धा तथा अन्य गम्भीर रोग भएका मानिसमा देखिँदा अवस्था थप बिग्रन सक्छ,” डा. पुन भन्छन्।

    “त्यसैले त्यस्ता वर्गमा पर्ने मानिसहरूले सरकारले बाँडिरहेको कोभिड खोपको चौथो मात्रा लिनु हितकर हुन्छ।”

    ज्येष्ठ नागरिक तथा गम्भीर खालका अन्य रोग भएका व्यक्तिलाई कोभिड-१९ भएको अवस्थामा ‘कडा खालको निमोनिया’ नहोस् भन्नका लागि बुस्टर खोप लगाउन भनिएको राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष समेत रहेका डा. रमेशकान्त अधिकारीले यसअघि बीबीसीलाई बताएका थिए।

    त्यसले सङ्क्रमित नै हुनबाट नरोके तापनि अस्पताल भर्ना हुनुपर्ने अवस्थाबाट जोगाउने स्वास्थ्य अधिकारीहरू बताउँछन्।

    धेरैले पूर्ण मात्रा र कम्तीमा एउटा बुस्टर लिइसकेका, विगतमा कोभिडबाट सङ्क्रमित समेत भइसकेकाले उनीहरूमा तयार भएको ‘हाइब्रिड प्रतिरोधी क्षमता’ले सङ्ख्या बढे पनि अवस्था विगतमा जस्तो नदोहोरिने सङ्क्रामक रोग विज्ञहरू ठान्छन्।

    “तर सङ्क्रमित हुने बित्तिकै आइसोलेसनमा बस्ने सावधानी अझै उत्तिकै अपरिहार्य छ। कसैको शरीरको क्षमता र अवस्थाका कारण यसले आईसीयू वा भेन्टिलेटरसम्म पुर्‍याउन पनि सक्छ, मृत्यु नै नहोला भन्न समेत सकिँदैन,” डा शेरबहादुर पुन भन्छन्।

    वास्तविक सङ्क्रमित कति

    कोभिड

    कुल वास्तविक सङ्क्रमितको तुलनामा अहिले निकै नै कम मानिसहरू अस्पतालसम्म पुग्ने अवस्थामा रहेको ठान्ने डा. अनुप सुवेदीले केही व्यक्तिका लागि सङ्क्रमणको जस्तोसुकै अवस्थामा पनि अस्पतालको सेवा आवश्यक रहने बताउँछन्।

    “उमेर बढ्दै गएपछि कोभिडले दिने सुरक्षा पनि कम हुन्छ। नयाँ भेरिअन्टका हकमा पुरानो भेरिअन्टमा जसरी खोपले धेरै काम नगर्न सक्छ, कसैलाई अनेकौँ कारणले शरीरमा कम रोग प्रतिरोधी अवस्था बनेको हुनसक्छ, ” डा सुवेदी भन्छन्।

    “केही थोरै प्रतिशत मानिसहरू जहिल्यै सिकिस्त हुनसक्ने वा अस्पताल भर्ना हुनुपर्ने अवस्था सधैँ रहन्छ।”

    पछिल्ला भेरिअन्टहरू निकै तीव्र गतिमा फैलने र छिटै कमजोर हुने खालका देखिएको विज्ञहरू बताउँछन्।

    डा. सुवेदीले पछिल्लो समय सबैले परीक्षण नगरिरहेकाले तथ्याङ्कका भरमा उच्च विन्दू पुगिसकेको वा नसकेको भन्ने आकलन गर्न कठिन भएको बताउँछन्।

    घना बस्ती र भिडभाड हुने सहरमा सङ्क्रमण छिटै फैलने वा कमजोर हुने भए पनि गाउँहरूमा त्यसको गति कमजोर हुने विज्ञहरू बताउँछन्।

    “यतिखेर हामीले बुझ्नुपर्ने के छ भने विगतमा कोभिड भए तापनि, पूर्ण मात्रामा खोप लगाए पनि, पानीमा बिझेको भए पनि रुघाखोकी लाग्दा वा ज्यान दुख्दा वा ज्वरो हुँदा त्यो कोभिड हुने उच्च सम्भावना रहन्छ,” डा. सुवेदी भन्छन्।

    “त्यस्तो बेला आइसोलेसनमा बस्ने वा मास्क लगाएर अरूलाई सङ्क्रमित हुन नदिने गरी जिम्मेवार हुन आवश्यक छ।”

    लाइन
    लाइन

    के छ खोपको अवस्था?

    मार्च महिनाको अन्त्यमा सरकारले सार्वजनिक गरेको एउटा आँकडाअनुसार ८२. ८ प्रतिशत नेपालीले एक मात्रा कोभिड खोप लगाएका छन्।

    पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ८३.१ प्रतिशत छ। ३२ प्रतिशतभन्दा धेरैले बुस्टर डोज पनि भनिने अतिरिक्त मात्रा खोप लगाएको बताइन्छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पूर्ण मात्राको खोप लगाएको तीन महिना भएका वा पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना भएका निश्चित समूहका व्यक्तिहरूलाई दोस्रो बुस्टर मात्रा खोप दिने जनाएको छ।

    कोभिड-१९ का अतिरिक्त खोप वितरणसम्बन्धी नयाँ मार्गदर्शन गएको मार्च महिनाको अन्त्यमा विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जारी गरेको थियो जसले खोप लगाउनेहरूलाई उच्च, मध्यम र कम जोखिम समूहमा वर्गीकरण गरेको थियो।

    डब्ल्यूएचओको खोपसम्बन्धी रणनीतिक सल्लाहकार समूह (सेज) को उक्त संशोधित मार्गदर्शनमा गम्भीर प्रकारका रोग र मृत्यु, खोपले दिएको परिणाम, लागत, खोप कार्यक्रम र समुदायको स्वीकार्यतालाई ध्यान दिएर निर्णय लिन भनिएको छ।

    उच्च प्राथमिकतामा परेका समूहमा वृद्धवृद्धा र मधुमेह तथा मुटुसम्बन्धी गम्भीर प्रकारका रोग लागेका व्यक्तिलाई राखिएको छ।

    त्यसबाहेक एचआईभी सङ्क्रमित, अङ्ग प्रत्यारोपण गराएका, ६ महिना वा त्योभन्दा माथिल्लो उमेरका बालबालिका, गर्भवती र अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी छन्।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain