• चीनले ताइवानसँग आफ्नो व्यवहार कसरी निर्धारण गर्छ

    चीनले ताइवानसँग आफ्नो व्यवहार कसरी निर्धारण गर्छ

    चीनले फेरि ताइवानवरिपरि सैन्य अभ्यास गरेको छ। तर केही विज्ञका भनाइमा त्यस्ता अभ्यासलाई उसले यसपालि कम उत्तेजक बनायो।

    ताइवानमा नौ महिनापछि राष्ट्रपतिको निर्वाचन हुन लागेको छ। विपक्षी कुओमिन्टाङ पार्टी ((केएमटी) विजय चीनको हितमा छ।

    यस पटक चीनले ताइवान द्वीपनजिकै क्षेप्यास्त्रहरू प्रहार गरेको छैन र सैन्य अभ्यास तीन दिनसम्म मात्र चलेको थियो।

    त्यस्तै ताइवानी राष्ट्रपति त्साई इन-वेनलाई भेट्ने अमेरिकी राजनीतिज्ञ तथा तल्लो सदनका सभामुख केभिन मकार्थीमाथि पनि प्रतिबन्ध लगाइएको छैन।

    पहिले कठोर, अहिले नरम

    गत अगस्टमा अमेरिकाकी तत्कालीन सभामुख न्यान्सी पलोसीले ताइपेईको भ्रमण गर्दा बेइजिङले कडा प्रतिक्रिया व्यक्त गरेको थियो।

    पलोसीको यात्रापछि सैन्य अभ्यासहरू चीनको “स्ट्यान्डर्ड अपरेशनल प्रसीजर”को अङ्ग बनेको ताइवानको न्याश्नल चेङ्ची यूनभर्सिटीका प्राध्यापक चेन-शेन येनले बताए।

    उनले भने, “उनीहरूलाई आफ्नो अडानबारे जानकारी दिनु आवश्यक छ,। तर उनीहरूको प्रतिक्रिया अतिकडा हुन सक्दैन।”

    ताइवान तनाव

    मुख्य कुरा समय हो।

    सन् १९४९ मा समाप्त भएको गृहयुद्धमा चिनियाँ कम्युनिष्ट पार्टीले केएमटीलाई पराजित गरेको थियो र पछि उसलाई ताइवानतर्फ जान बाध्य बनाएको थियो।

    तर हालैका दशकहरूमा पूर्वप्रतिद्वन्द्वीहरूले साझा आधार फेला पारेका छन्।

    सन् १९९२ को एउटा सहमतिअनुसार एउटा अस्पष्ट शब्दमा दुवैको सहमति छ जसमा ताइवानसहितको “एक चीन” मात्र भन्ने गरिन्छ।

    चिनियाँ रणनीति

    यदि बेइजिङले आफ्नो कट्टरपन्थी बयानबाजी जारी राख्यो भने आसन्न निर्वाचनमा स्वतन्त्रता पक्षधर डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) का लागि त्यो कुरा मुख्य मसला हुने येन बताउँछन्।

    गत वर्षको स्थानीय चुनावमा केएमटीले ठूलो जित हात पारेको थियो। तर विश्लेषकहरूका अनुसार राष्ट्रपतीय निर्वाचनमा चीन मामलाको ठूलो महत्त्व हुन्छ।

    ताइवानको सूचोउ विश्वविद्यालयका प्राध्यापक फाङ-यु चेन चीनले ताइवानप्रति “पुरस्कार र दण्डको रणनीति” अवलम्बन गरेको बताउँछन्।

    चीनले एकातिर “एक चीन” नीतिमा ताइवान सहमत भए आर्थिक र सांस्कृतिक लेनदेन हुने गरेको छ भने अर्कातर्फ त्यसै समयमा उसले आफ्नो सैन्य बललाई परिस्कृत गर्ने क्रम पनि जारी राखेको छ।

    “बेइजिङले ताइवानीहरूलाई यदि उनीहरूले डीपीपीलाई मत दिए भने त्यहाँ युद्ध हुने छ र यदि उनीहरूले केएमटीलाई मत दिए भने शान्ति हुने छ भन्ने सन्देश दिन चाहन्छ,” उनी भन्छन्।

    उनका भनाइमा यो सैन्य कारबाहीका लागि एउटा असहज सन्तुलन हो।

    यद्यपि चीनले ताइवानप्रति कडा कदम चाल्न आन्तरिक दबावको सामना गरिरहेको र विशेषतः चीनले आफ्ना नागरिकमाझ राष्ट्रवादको भावना उकास्ने गरेको उनको बुझाइ छ।

    ताइवानी राष्ट्रपतिले केही दिनअघि अमेरिकाको भ्रमण गरेकी थिइन्
    तस्बिरको क्याप्शन,ताइवानी राष्ट्रपतिले केही दिनअघि अमेरिकाको भ्रमण गरेकी थिइन्

    अमेरिका र ताइवानको रणनीति

    सैन्य अभ्यासको उद्देश्य अमेरिका र ताइवानी राजनीतिज्ञलाई धेरै नजिक हुनबाट रोक्नु हो भने त्यो केही हदसम्म सफल भएको देखिन्छ।

    ताइवानले साई-मकार्थी भेटका बेला तनाव कम गर्न कदम चालेको देखिन्छ।

    गत जुलाईमा मकार्थीले यदि उनी सभामुख भए भने कंग्रेसको प्रतिनिधिमण्डलको नेतृत्व गर्न चाहेको कुरा बताएका थिए।

    स्रोतलाई उद्धृत गर्दै फाइनान्शल टाइम्सले लेखेअनुसार ताइवनले सुरक्षा चिन्ताका कारण उनलाई आफ्नो देशमा बोलाउनुको साटो अमेरिकामा नै भेट गर्न मनाउन सफल भयो।

    साई राष्ट्रपति बनेपछि यो सातौँ “ट्रान्जिट” हो भन्दै अमेरिकाले पनि उक्त भ्रमण र भेटघाटलाई कम महत्त्वको देखाउन खोजे जस्तो प्रतीत हुन्।

    अमेरिका र ताइवान दुवैले उक्त त्यसलाई “भ्रमण”को सट्टा ‘स्टपओभर’ वा ‘ट्रान्जिट’का रूपमा वर्णन गरेका छन्।

    प्राध्यापक चेन भन्छन्, “अमेरिका र ताइवानले कम महत्त्वको भ्रमण भन्ने खालको रणनीति अपनाउनुपर्छ भन्ने मौन बुझाइ विकास गरेका छन्।”

    यद्यपि त्यो पनि ताइवानका लागि जित बराबरको अवस्था भएको उनको भनाइ छ। किनभने मकार्थी सन् १९७९ मा अमेरिकाले ताइवानसँग कूटनीतिक सम्बन्ध भङ्ग गरेको बेलादेखि कुनै पनि ताइवानी राष्ट्रपतिले अमेरिकी भूमिमा भेटेका सबैभन्दा उच्च अमेरिकी अधिकारी थिए।

    साङ्केतिक तस्बिर

    यो पनि हेर्नुहोस्

    साङ्केतिक तस्बिर

    ताइवानबारे अमेरिकी नीति

    ताइवान मुद्दा अमेरिका-चीन सम्बन्ध कुनै पनि बेला तलमाथि पर्न सक्ने सबैभन्दा संवेदनशील विषय हो।

    चीनले प्रजातान्त्रिक रूपमा स्वशासित उक्त द्वीपलाई आफ्नो देशको अभिन्न अङ्ग मान्छ र त्यहाँ नियन्त्रण कायम गर्न शक्ति प्रयोग गर्ने सम्भावनालाई अस्वीकार गरेको छैन।

    अमेरिकाले ताइवानलाई व्यापक समर्थन देखाउँदा आफ्नो लामो समयदेखिको ‘एक चीन’ नीतिलाई खोक्रो बनाएको चिनियाँ आरोप छ।

    उक्त नीति स्वीकार गर्नु भनेको चीनको एउटा मात्र सरकार छ भन्ने कूटनीतिक मान्यता दिनु हो।

    उक्त नीतिअन्तर्गत अमेरिकाले ताइवानको सट्टा चीनसँगको औपचारिक सम्बन्धलाई मान्यता दिन्छ। चीनले चाहिँ ताइवानलाई कुनै दिन मुख्य भूमि चीनसँग एकीकरण हुने प्रान्तको रूपमा हेर्छ।

    तर यो ‘एक चीन’ सिद्धान्तबाट भिन्न छ। उक्त सिद्धान्तमा चीनले ताइवानलाई एक दिन एकीकरण गर्ने आफ्नो एक अविभाज्य भागका रूपमा हेर्छ।

    ताइवान तनाव

    अमेरिकी नीतिले बेइजिङको उक्त मान्यतालाई समर्थन गर्दैन र वास्तवमा आफ्नो नीतिको एक हिस्साको रूपमा वाशिङ्टनले ताइवानसँग “बलियो अनौपचारिक” सम्बन्ध कायम राखेको छ।

    त्यसैअन्तर्गत उसले ताइवानलाई निरन्तर अस्त्र बेच्दै आएको छ। त्यसले गर्दा उसले आफ्नो रक्षा गर्न सक्छ भन्ने अमेरिकी नीति देखिन्छ।

    गत वर्ष राष्ट्रपति जो बाइडनले बारम्बार यदि चीनले आक्रमण गर्‍यो भने अमेरिकाले ताइवानलाई मद्दत गर्न हस्तक्षेप गर्ने बताएका थिए। ती भनाइहरू अमेरिकाको आधिकारिक अडानसँग बाझिने खालका थिए।

    चिनियाँ र ताइवानी सेनाको तुलना

    अमेरिका के गर्दै छ

    एशियामा आफ्नै सेनाको क्षमताको परीक्षण गर्ने एउटा उपायका रूपमा अमेरिकाले मङ्गलवारदेखि फिलिपिन्ससँग सबैभन्दा ठूलो संयुक्त जलसैनिक अभ्यास सुरु गर्न लागेको छ।

    अमेरिकाले साउथ चाइना सीमा रहेका फिलिपिन्सका चारवटा अतिरिक्त सैन्य आधारहरूमा पनि आफ्नो पहुँच सुनिश्चित पारेको छ। तीमध्ये तीनवटा ताइवाननजिकै छन्।

    ताइवानमा मानिसहरू शान्त देखिए किनभने उनीहरूले गत अगस्टमा भएको जस्तै सैन्य अभ्यास भएको हो भन्ने ठाने।

    तर प्राध्यापक येन ताइवान सुरक्षित भएको भ्रामक धारण पो बन्न कि भनेर केही चिन्तित छन्।

    “चीनले भविष्यमा पनि अभ्यास जारी राख्न सक्छ र एक दिन आक्रमण भयो भने कसरी जबाफदिने भन्ने ताइवानलाई थाहा छैन,” उनी भन्छन्।

    अहिलेको सैन्य अभ्यासका क्रममा चिनियाँ सैन्य विमान र पानीजहाजले ताइवान स्ट्रेटको मध्यरेखा पार गरेको देखिएको छ।

    उक्त रेखाले चिनियाँ र ताइवानी क्षेत्रलाई अनौपचारिक रूपमा विभाजन गर्ने गर्छ र विगत ७० वर्षदेखि दुवै देशले त्यसलाई मान्दै आएका छन्।

    source:bbc nepali

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain