• अमेरिकाको एउटा ब्याङ्कमा कर्मचारीले अन्धाधुन्ध गोली हान्दा पाँच जनाको मृत्यु

    अमेरिकाको एउटा ब्याङ्कमा कर्मचारीले अन्धाधुन्ध गोली हान्दा पाँच जनाको मृत्यु

    अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिल सहरमा एक व्यक्तिले आफू कार्यरत ब्याङ्कमा अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ती कर्मचारीले उक्त घटनालाई इन्स्टाग्राममा लाइभस्ट्रीम पनि गरेका थिए।

    मृतकहरू ४० देखि ६४ वर्षसम्मका भएको प्रहरीले जनाएको छ।

    घाइते भएका अन्य नौ जनामध्ये एक प्रहरी पनि छन्। छब्बीस वर्षीय निकोलास विल्टले दुई साताअघि मात्र प्रहरीमा सेवा थालेका थिए।

    विल्टको टाउकोमा गोली लागेको थियो। उनको मस्तिष्कको शल्यक्रिया गरिएको भए पनि अवस्था अझै गम्भीर छ।

    आक्रमण भएको तीन मिनेटभित्रै प्रहरीले कारबाही थालेको थियो।

    प्रहरीले गोली लागेर ती आक्रमणकारीको समेत मृत्यु भयो।

    अमेरिका
    लाइन
    लाइन

    घटना हुँदा के भयो?

    घटना भएको ‘द ओल्ड न्याश्नल ब्याङ्क’ सहरको मध्यभागमा छ।

    स्थानीय समयानुसार बिहानको ८:३० बजेतिर उक्त घटना भएको थियो।

    एक व्यक्तिले आफ्नी श्रीमती पनि उक्त ब्याङ्कमा कर्मचारी भएको र त्यहाँ गोली चल्न थालेपछि उनी पैसा राखिने भल्टभित्र लुकेको स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्।

    अन्य प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारी र प्रहरीबीच गोली हानाहान भएको थियो।

    अमेरिका

    केन्टकीका गभर्नर एन्डी बशेअरले एक साथी तथा उक्त ब्याङ्कका एक वरिष्ठ अधिकारी टमी इलिअटको पनि उक्त आक्रमणमा मृत्यु भएको जानकारी दिएका छन्।

    “टमीले मलाई कानुनी क्षेत्रमा करीअर बनाउन सहयोग गरे, मलाई गभर्नर बन्न सघाए, राम्रो पिता हुनका लागि सल्लाह दिए,” उनले भने‍।

    द ओल्ड न्याश्नल ब्याङ्कका प्रमुख कार्यकारी जिम रायनले उक्त घटनाप्रति दुःख प्रकट गर्दै कर्मचारी र सेवाग्राहीको सुरक्षा “मुख्य” रहेको कुरामा जोड दिएका छन्।

    लुइसभिल नगरपरिषद्का एक अधिकारीले ‘कुरिअर-जर्नल’ पत्रिकालाई बताएअनुसार विल्टले गत मार्च ३१ मा प्रहरी प्रतिष्ठानबाट आफ्नो तालिम पूरा गरेर थिए।

    लाइन
    लाइन

    लुइसभिलका नगरप्रमुख क्रेग ग्रीनबर्गले उक्त घटनालाई “लक्षित हिंसाको दानवीय कार्य” भनेका छन्।

    घटनामा परेर पनि जीवित रहन सफल दुई जनाले डब्ल्यूएचएएस-टीभीलाई बताएअनुसार ब्याङ्कको भुइँतलास्थित कन्फरेस कक्षमा सबै कर्मचारीहरू भेला भएको बेला गोली चल्न थालेको थियो।

    “मसँगै भएका सबै जनालाई गोली लाग्यो। ममाथि रगत लाग्यो,” आफ्नो कमिज देखाउँदै उक्त ब्याङ्कका एक कर्मचारीले भने।

    केन्टकीमा गोलीकाण्ड भएको ब्याङ्कबाहिरको दृश्य

    को हुन् आक्रमणकारी?

    आक्रमण गर्ने सन्दिग्ध व्यक्तिको नाम कोनर स्टर्जन भएको प्रहरीले जनाएको छ। उनी २३ वर्षका थिए।

    प्रहरीका अनुसार उनले आक्रमणमा एआर-१५ जस्तो अर्धस्वचालित राइफल प्रयोग गरेका थिए। गोली चलाएको दृश्य उनले अनलाइन माध्यममा प्रत्यक्ष प्रसारण पनि गरेका थिए।

    इन्स्टाग्रामको स्वामित्व भएको मेटा कम्पनीले उक्त प्रत्यक्ष प्रसारणलाई तत्कालै हटाइएको जनाएको छ।

    एउटा अनलाइन प्रोफाइलमा ती सन्दिग्ध आक्रमणकारी ओल्ड न्याश्नल ब्याङ्कमा सिन्डिकेसन्स असोसिएट र पोर्टफोलिओ ब्याङ्कर भएको उल्लिखित छ।

    उनले गत वर्षदेखि उक्त ब्याङ्कमा पूर्णकालीन कर्मचारीका रूपमा काम थालेका थिए। त्यसअघि उनले त्यहाँ तीन वर्ष गर्मीयाममा इन्टर्नका रूपमा काम गरेका थिए।

    रेड लाइन
    रेड लाइन

    किन गरे आक्रमण?

    अधिकारीहरूका अनुसार यसअघि उनले कुनै अपराध गरेको अभिलेख छैन।

    अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार उक्त ब्याङ्कले ती व्यक्तिलाई केही दिनअघि उनलाई जागिरबाट निकालिने जानकारी दिएको थियो।

    सोमवार कार्यालय जानुअघि उनले गोलीकाण्डको योजनाबारे एउटा टिपोट पनि लेखेको सञ्चारमाध्यममा प्रकाशित विवरणहरूमा उल्लेख गरिएको छ।

    गन भाइअलन्स आर्काइभका अनुसार एप्रिल महिना सुरु भइसकेपछि अमेरिकामा चार वा बढी मानिसलाई गोली लाग्नेगरी कम्तीमा १५ वटा सामूहिक गोलीकाण्ड भइसकेका छन्। यो वर्ष सुरु भएदेखि भएका गोलीकाण्डको सङ्ख्या १४६ भएको उक्त अभिलेखले देखाउँछ।

    सोमवार ट्वीट गर्दै अमेरिकी राष्ट्रपति जो बाइडनले बन्दुक नियन्त्रण गर्ने कानुन पारित गर्न कङ्ग्रेससँग माग गरेका छन्।

    “धेरै अमेरिकी नागरिकहरूले अर्कमण्यताका कारण मूल्य चुकाउनुपरिरहेको छ,” उनले लेखेका छन्।

    केन्टकीसहित २६ वटा अमेरिकी राज्यमा २१ वर्षमाथिका मानिसले बन्दुक किन्न र अनुमतिपत्रबिनै बोक्न पाउँछन्।

    source:bbc nepali

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain