

प्रतिनिधिसभा सदस्यका लागि बिहीबार हुने निर्वाचनका लागि सोमबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ।
निर्वाचन आचारसंहिताअनुसार मतदानको दिन सुरु हुनु ४८ घण्टाअघिदेखि मतदान नसकिएसम्म कायम हुने मौन अवधिमा प्रचार, भाषण, भेला, छलफल, समीक्षा लगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन।
मौन अवधिमा मत माग्न, सामाजिक सञ्जालमा पोस्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी क्रियाकलाप गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ।
यस अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरेको भेटिए उम्मेदवारी खारेजीदेखि ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने गरी कारबाही हुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए।
मतदानको समयमा प्रतिस्पर्धीबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता त्रसित नहोऊन् भनेर मतदानको ४८ घण्टाअघिदेखि मौन अवधि लागू गरिएको हो।
मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्रीसमेत हटाउन लगाउनेछ। आयोगले तोकेको कार्यतालिका अनुसार ६ माघमा उम्मेदवारी दर्ता गराएका दलहरूले ४ फागुनदेखि प्रचारप्रसार गरी मत माग्दै आएका थिए।
मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए।
निर्वाचन आचारसंहिताको दफा १७ मा ुमतदान हुने दिनको अघिल्लो अठचालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणु भन्दै मौन अवधिबारे उल्लेख गरिएको छ।
यसमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले तोकिएका आचरण पालन गर्नुपर्ने भनिएको छ।
त्यस्तै कुनै पनि विधि प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन नहुने उल्लेख छ।


कम्पनी दर्ता नं. : 122554/70/071
पान नं.: 601875593
अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी
सम्पादक : रेखा चौधरी
स्टेशन मनेजर : शेर बहादुर चौधरी
समाचार प्रमुख : गीता कुमारी चौधरी
कार्यक्रम संचालक : सुस्मिता चौधरी
प्राविधिक : रीता कुमारी चौधरी