

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरू चुनावी घोषणापत्र सहित मतदाता माझ जान थालेका छन्। यस क्रममा कैलाली क्षेत्र नम्बर ३ का नेपाली कांग्रेस उम्मेदवार भीम बडुवालले सुखडमा पत्रकार सम्मेलन गर्दै आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।
उनले पाँच वर्ष भित्र कार्यान्वयन गर्न सकिने योजनालाई समेटेर १३ बुँदे प्रतिबद्धता पत्र तयार गरिएको जानकारी दिए। घोषणापत्रमा कान्द्रा नदी कोरिडोर निर्माण देखि स्रोत व्यवस्थापन सम्मका योजना समावेश छन्। कैलारी, भजनी र घोडाघोडी नगरपालिकाका सबै वडामा शिक्षा, स्वास्थ्य, सुरक्षित बस्ती, रोजगारी र आधुनिक पूर्वाधार मार्फत दिगो विकास गर्दै जनताको जीवनस्तर उकास्ने लक्ष्य उल्लेख गरिएको छ।
कान्द्रा नदी कोरिडोरअन्तर्गत घोडाघोडी देखि भजनी सम्म ३८ किलोमिटर तटबन्ध, नदी नियन्त्रण, हरित कोरिडोर र बाइरोड निर्माण तथा चक्लाबन्दी÷करार खेती सहितको बहुउद्देश्यीय परियोजनालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि बढाउने योजना सार्वजनिक गरिएको छ। डुबान तथा बाढी जोखिम क्षेत्रको नक्साङ्कन गरी मोहना, कान्द्रा, काढा, पथरैया, कटैनी र डोडा लगायत नदीमा नियन्त्रण तथा तटबन्धन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
पूर्वाधार विकास अन्तर्गत विभिन्न वडामा पक्की पुल, सडक कालोपत्रे, ढल निकास, खेलमैदान र बसपार्क निर्माण गर्ने योजना राखिएको छ। शिक्षा क्षेत्रमा प्राविधिक तथा सिपमूलक शिक्षामा जोड दिँदै उच्च शिक्षामा पहुँच विस्तार र छात्रवृत्ति व्यवस्था गरिने उल्लेख छ।
स्वास्थ्य तर्फ प्रत्येक पालिकामा १५ देखि २५ शय्याका सुविधा सम्पन्न अस्पताल स्थापना वा स्तरोन्नति, एम्बुलेन्स सेवा विस्तार, सिकलसेल रोगको निःशुल्क उपचार तथा पाँच लाख रुपैयाँ सम्मको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा लागू गर्ने प्रतिबद्धता जनाइएको छ।
पर्यटन, भाषा, कला, संस्कृति र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै घोडाघोडी क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तथा अन्य पालिकाका प्राकृतिक ताल र धार्मिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्ने योजना समेटिएको छ। युवा रोजगारी, उद्यमशीलता प्रवद्र्धन तथा महिला, दलित, सुकुमवासी, मुक्त कमैया–कमलरी र पिछडिएको समुदायको सशक्तीकरण सम्बन्धी कार्यक्रम पनि घोषणापत्रमा समावेश छन्।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै २०४६ साल पछि सार्वजनिक पद धारण गरेका उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिन सम्बन्धी कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका बडुवालले सुशासन, जवाफदेहिता, भ्रष्टाचारमुक्त राजनीति र समृद्ध कैलाली–३ निर्माण गर्ने लक्ष्य सहित आफू चुनावी मैदानमा उत्रिएको बताए। कैलाली–३ मा घोषणापत्र सार्वजनिक गर्ने पहिलो दल नेपाली कांग्रेस बनेको छ।
अन्य दलहरूले पनि छिट्टै आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जनाएका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार वीरमान चौधरीले माघ मसान्त सम्म घोषणापत्र ल्याइने बताए। नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विक्रम चौधरीले पार्टी अध्यक्ष मार्फत तयार हुने घोषणापत्र क्षेत्रगत आवश्यकताअनुसार प्रस्तुत गरिने जानकारी दिए।


कम्पनी दर्ता नं. : 122554/70/071
पान नं.: 601875593
अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी
सम्पादक : रेखा चौधरी
स्टेशन मनेजर : शेर बहादुर चौधरी
समाचार प्रमुख : गीता कुमारी चौधरी
कार्यक्रम संचालक : सुस्मिता चौधरी
प्राविधिक : रीता कुमारी चौधरी