• जेन–जी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेश सरकारको ५० करोड बढी क्षति

    जेन–जी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेश सरकारको ५० करोड बढी क्षति

    १२ कार्तिक पहलमानपुर– जेन–जी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतका मन्त्रालय तथा कार्यालयहरूमा भवनबाहेक सवारीसाधन र जिन्सी सामग्री मात्र ५० करोड बढीको क्षति मूल्यांकन गरिएको छ ।

    सात वटा मन्त्रालय रहेको सुदूरपश्चिममा आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय रहेका भवनहरू प्राविधिक रूपमा मर्मतसमेत गर्न अयोग्य भनिएपछि ती मन्त्रालयहरू अर्को भवन खोजेर सार्ने क्रममा छन् ।

    प्रदेश सरकारले संकलन गरेको तथ्यांक अनुसार ६६ वटा चार पाङ्ग्रे सवारीसाधन र एक सय वटा दुई पांग्रे सवारीसाधन क्षति भएको उल्लेख छ । सवारीसाधन र जिन्सी सामग्रीमा भएको क्षतिको प्रारम्भिक मूल्यांकन प्रतिवेदन अनुसार ५० करोड ६३ लाख २४ हजार क्षति आकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । ‘भवनहरूमा भएको क्षति यसमा संलग्न गरिएको छैन,’ मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले भने ‘आर्थिक र भौतिक मन्त्रालयको भवनमा बस्नै नसकिने गरी क्षति भएकाले ती मन्त्रालय अन्य भवनमा सार्ने तयारी भइरहेको छ ।’

    प्रतिवेदन अनुसार सबैभन्दा बढी क्षति भौतिक पूर्वाधार विकास मन्त्रालयको भएको छ । उक्त मन्त्रालयमा भवनबाहेक १० करोड ५७ लाख ४६ हजार अनुमान गरिएको छ । भौतिक मन्त्रालयमा सवारीसाधनमा क्षति पनि सबैभन्दा धेरे भएको छ ।

    १४ वटा चार पांग्रे र २० वटा २ पांग्रे सवारीसाधनमा आगजनी गरिएको मन्त्रालयको तथ्यांक छ । दोस्रोमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको क्षति भएको छ । उक्त कार्यालयको क्षति ९ करोड ७४ लाख रहेको उल्लेख छ ।

    क्षति बढी हुने तेस्रो कार्यालय प्रदेश सभा सचिवालय हो । प्रदेश सभा सचिवालयमा भवनबाहेक ६ करोड ९३ लाख २१ क्षति भएको तथ्यांक छ । यस्तै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ५ करोड, सामाजिक विकास मन्त्रालयमा ४ करोड २५ लाख ६७ हजार, आर्थिक मामिला मन्त्रालयमा ३ करोड ७५ लाख ९४ हजार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ३ करोड ५५ लाख, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा ३ करोड ३० लाख क्षति भएको छ ।

    मन्त्रालयबाहेक मुख्य न्यायाधिवक्ता कार्यालय, प्रदेश नीति तथा योजना आयोग, प्रदेश लोकसेवा आयोग र प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सवारीसाधन र जिन्सी सामानमा पनि आगजनी भएको छ । मुख्य महान्यायाधिवक्ता कार्यालयमा एक करोड ७० लाख, प्रदेश प्रशिक्षण प्रतिष्ठानको एक करोड २५ लाख, प्रदेश लोक सेवा आयोगको ३१ लाख ९६ हजार र प्रदेश नीति तथा योजना आयोगको २५ लाख क्षति भएको तथ्यांक छ ।

    मन्त्रालयको भवन पुनः प्रयोग गर्न नमिल्ने गरी आगजनी गरिएपछि भौतिक पूर्वाधार मन्त्रालय सोही मन्त्रालय अन्तर्गतको मोहना सिँचाइ आयोजनाको कार्यालयका लागि हालै निर्माण सम्पन्न गरिएको भवनमा सार्ने काम सुरु गरिएको छ । मन्त्रालयका कर्मचारीहरूका अनुसार मंगलबारदेखि पुरानो भवनमा बचेका कागजात सार्ने र नयाँ फर्निचर सेटअप गर्ने काम सुरु भएको मन्त्रालयका उपसचिव मेखराज जैशीले बताए ।

    आर्थिक मामिला मन्त्रालयको भवन समेत पुनः प्रयोग गर्न नमिल्ने भएपछि भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको हालै निर्मित भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको भवनमा सार्न लागिएको छ । ‘भवन मात्र तयार भएको थियो । आन्तरिक कामहरू तयार गरेर हाम्रो मन्त्रालय सार्ने काम सुरु भएको छ,’ मन्त्रालयका अधिकृत सुरज श्रेष्ठले भने ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन, भूमि व्यवस्था कृषि तथा सहकारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा भने पुरानै भवनमा मर्मत कार्य भइरहेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको भवनमा तोडफोड मात्र भएको थियो ।

    मंगलबारसम्म कुनै पनि मन्त्रालयका कर्मचारीहरू लयमा फर्किसकेका छैनन् । सबै कर्मचारीहरू हाजिर भए पनि पूर्वाधार अभावले काम गर्ने वातावरण भने नबनेको सम्बन्धित मन्त्रालयका कर्मचारीहरू बताउँछन् । ‘मन्त्रालय मातहतका जिल्ला कार्यालयहरूबाट काम भइरहेको छ, मन्त्रालयहरूमा अझै काम गर्ने वातावरण तयार भएको छैन,’ मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले भने ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain