

सुदूरपश्चिम प्रदेशको प्रमुख स्वास्थ्य केन्द्रहरूमा रगतको चरम अभाव भएको नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले जनाएको छ। जिल्ला शाखाले संचालित प्रादेशिक रक्तसञ्चार केन्द्र धनगढी तथा टीकापुर रक्तसञ्चार केन्द्रमा रगतको अत्यधिक अभाव देखिएको भन्दै तत्काल रक्तदान कार्यक्रम सञ्चालन गर्न विभिन्न संघसंस्थाहरुलाई आह्वान गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशीले आपतकालीन अवस्थालाई दृष्टिगत गर्दै सरकारी, गैरसरकारी, युवा क्लब, सामाजिक संस्था, विद्यालय, क्याम्पस लगायत सबै पक्षले तत्काल रक्तदान कार्यक्रम आयोजना गर्नु पर्ने आवश्यकता औंल्याउनुभयो। “आजको रगत भोलिको जीवन हो। रगतको कुनै विकल्प छैन, त्यसैले प्रत्येक सचेत नागरिकले यस अभियानमा साथ दिन जरुरी छ,” सभापति जोशीले भन्नुभयो।
रक्तदानलाई जीवनदानको रूपमा व्याख्या गर्दै जिल्ला शाखाका उपकोषाध्यक्ष रंगप्रसाद तिमिल्सैनाले सबैलाई नियमित रक्तदान गर्न आग्रह गर्नुभयो। “रगत आफुलाई मात्र आवश्यक परेको बेला माग्ने होइन, जब समाजलाई आवश्यक पर्छ, त्यो बेला पनि हामीले दान गर्नुपर्छ। मानवताको सेवा गर्न सकिने सबैभन्दा सरल र पवित्र तरिका हो – रक्तदान,” तिमिल्सैनाले बताउनुभयो।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सदस्य तथा स्वास्थ्य समिति संयोजक धर्मराज जोशीका अनुसार वर्षाको समयमा मौसमी रोग, दुर्घटना तथा अन्य आपतकालीन अवस्थाहरूको सम्भावना बढ्ने भएकाले यो समयमा रगतको माग अत्यधिक हुन्छ। “वर्षायाममा सर्ने रोग तथा आकस्मिक स्वास्थ्य समस्याको संख्या बढ्ने भएकाले रक्त सञ्चार केन्द्रहरूमा रगतको माग उच्च हुने गर्छ,” उहाँले बताउनुभयो।
सुदूरपश्चिम प्रदेशका अधिकांश बिरामीहरू उपचारका लागि धनगढी आउने गरेपनि आवश्यक मात्रामा रगतको आपूर्ति गर्न नसकिएको प्रादेशिक रक्तसञ्चार केन्द्र धनगढीका प्रमुख धरणी प्रसाद पन्तले जानकारी दिनुभयो। “हाम्रो केन्द्रमा दैनिक रगतको माग उच्च छ, तर पर्याप्त दाताको अभावले गर्दा नियमित आपूर्ति गर्न हम्मे–हम्मे परेको छ,” पन्तले बताउनुभयो। अत्यधिक गर्मी समेत भएकोले स्वयंसेवी रक्तदाताहरुको समेत अभाव भएकोले रगत आपूर्ति गर्न समस्या भएको उहाँ बताउनुभयो ।
यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारका रक्तदान सदभावना दुत दीपक उपाध्याय नेपालले पनि नागरिकहरूप्रति हार्दिक अनुरोध गर्दै भन्नुभयो, “रक्तदान केवल दातालाई पुण्यको काम मात्र होइन, पीडितलाई जीवनको आशा हो। त्यसैले सबैले यो मानवीय सेवामा सहभागी भइदिनु आवश्यक छ।” उहाँले जनचेतनाकाे अभावले पछिल्लो समय रक्तदाताकाे संख्यामा कमी आएको र जिल्लामा पहिलेकाे तुलनामा रगतको खपत बढेको बताउनु भयाे ।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले छिट्टै जिल्लाभर विभिन्न विद्यालय, क्याम्पस, कार्यालय, क्लब र संघसंस्थाहरूसँग समन्वय गरी रक्तदान कार्यक्रमहरू सञ्चालन गर्ने योजना अघि सारेको छ। साथै, जनचेतनामूलक अभियानमार्फत रक्तदानको आवश्यकता र महत्व बारे जानकारी दिने तयारी समेत गरिएको छ।
विशेषज्ञहरूका अनुसार, एक युनिट रगतले तीन जना बिरामीको जीवन बचाउन सक्ने सम्भावना हुन्छ। तर नेपालमा नियमित रक्तदाताको संख्या न्यून हुनु तथा जनस्तरमा रक्तदानप्रतिको चेतना अभावले गर्दा हरेक वर्ष यस्तो संकटको सामना गर्नु परिरहेको रेडक्रस कैलालीले जनाएको छ।


कम्पनी दर्ता नं. : 122554/70/071
पान नं.: 601875593
अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी
सम्पादक : रेखा चौधरी
स्टेशन मनेजर : शेर बहादुर चौधरी
समाचार प्रमुख : गीता कुमारी चौधरी
कार्यक्रम संचालक : सुस्मिता चौधरी
प्राविधिक : रीता कुमारी चौधरी