अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

पञ्चवर्षीय योजना बनाएर काम गर्छु : सांसद चौधरी

पञ्चवर्षीय योजना बनाएर काम गर्छु : सांसद चौधरी

नवनिर्वाचित सांसद गंगाराम चौधरीले पञ्चवर्षीय योजना बनाएर आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि काम गर्ने बताएका छन् ।  
उनले जनतासंगै रहेर योजनावद्ध रुपमा काम गर्न आफू प्रतिवद्ध रहेको बताए । ‘सदनको समयबाहेक अन्य समयमा मेरो बसाइ संघीय राजधानीमा हुने छैन’, सांसद चौधरीले भने,‘म यहिँ जनतासंगै रहेर पाँच वर्षको योजना बनाइ काम गर्नेछु ।’ उनले जनताको आवश्यकताको पहिचान गरेर उनीहरुको आवश्यकतानुसार काम गर्ने उल्लेख गरे । 


चौधरीले आफू निर्वाचित भएको क्षेत्रमा बाढी डुबानको समस्या विकराल रहेका बताए । यसैगरी, रोजगारी, शिक्षा लगायतका क्षेत्रमा थुप्रै समस्या रहेको भन्दै उनले समस्या समाधानका लागि सदनमा आवाज उठाउने बताए । बाढी, डुबान समस्या समाधान गर्ने उद्देश्यले बाढी पीडित क्षेत्र घोषणाका लागि विशेष पहल गर्ने उनको भनाइ छ । ‘रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको समस्या समाधानका लागि गुरुयोजना बनाएर काम गर्नेछु’, उनले भने । यस्तै, किसानका समस्या सम्बोधनका लागि प्राथमिकतासाथ काम गर्ने भन्दै सांसद चौधरीले अगाडि थपे,‘पञ्चवर्षीय योजना बनाएर त्यहि योजना अनुसार काम गर्नेछु ।’ 


टीकापुर घटनाबारे आयोग, छानविन समिति र मानव अधिकारवादी निकायका प्रतिवेदन सार्वजनिक गराउने कार्यलाई पहिलो प्राथमिकता दिने चौधरीको भनाइ छ । अहिलेसम्म लुकाएर राखिएको प्रतिवेदन सार्वजनिक गर्न र टीकापुर राजबन्दीहरुको रिहाइका लागि आफूले सदनमा आवाज उठाउने उनले बताए । 


नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्यसमेत रहेका चौधरी गठबन्धनका उम्मेदवार र पूर्वमन्त्रीलाई पराजित गरेर संसदको यात्रा तय गरेका छन् । कैलाली क्षेत्र नं. ३ बाट उनी विजयी भएका हुन । उनको नागरिक उन्मुक्ति पार्टी गत वर्षको फागुन महिनामा गठन भएको थियो । स्थानीय तहको निर्वाचनदेखि यो पार्टीको चर्चा बढेको थियो । स्थानीय तहको निर्वाचनमा सो पार्टीले कैलालीका चार पालिकामा जित हासिल गरेको थियो भने प्रतिनिधि सभातर्फ कैलालीमा तीन र प्रदेश सभातर्फ पाँच सिट जितेको छ । 


४४ वर्षीय चौधरी भजनी नगरपालिका–२ मोहनपुरवासी हुन । बुबा स्व. फूलराम डङ्गौरा र आमा राजदेवी डङ्गौराको कोखबाट २०३५ सालमा साविकको थापापुर गाविस–४ मा चौधरीको जन्म भएको थियो । उनले ‘पाठ्यक्रम’ मा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।
२०÷२२ वर्षसम्म गैरसरकारी संस्थामा काम गरेका चौधरीको राजनीतिक यात्रा २०५४÷५५ बाट सुरु भएको थियो ।

त्यति बेला उनी नेपाली कांग्रेसमा आवद्ध थिए । २०७४ को आम निर्वाचनको क्रममा रेशम चौधरी जिताउ अभियानमा उनले जिल्ला संगठन प्रमुखको भूमिका निर्वाह गरेका थिए । संरक्षणप्रति क्रियाशील उनले केही समय राजनीतिसंगै डल्फिन संरक्षणको क्षेत्रमा काम गरेका थिए ।  

घोडाघोडी नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गराउने अभियान सुरु गर्यो
मंसिर १५, १८:५८
धनगढीमा निषेधाज्ञा जारी
मंसिर १५, १८:५८