धनगढीको सडकमा उत्रिए व्यवसायी, चर्को ब्याजदर घटाउन माग

धनगढीमा चर्को ब्याजदरविरुद्ध प्रदर्शन गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदरविरुद्ध कैलाली उद्योग वाणिज्य संघको आयोजनमा विरोध प्रदर्शन गरिएको हो।अस्वभाविक रूपले बढेको ब्याजदरले व्यवसाय सञ्चालन गर्नै समस्या भएको भन्दै जिल्लाका उद्योगी, व्यवसायी विरोधमा उत्रिएका हुन्।
बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरको विरोध गर्दै बुधबार धनगढीको ट्राफिक चौराहदेखि नेपाल राष्ट्र बैँक धनगढीसम्म मौन प्रदर्शन गरेका छन्। कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा धनगढी उप–महानगरपालिकाका नगरप्रमुख गोपाल हमालको समेत विरोध प्रदर्शनमा सहभागि थिए।
नेपाल राष्ट्र बैंकको चालु पुँजी कर्जा मार्ग निर्देशिका २०७९ मा गरिएको व्यवस्था र कर्जाको ब्याजदरमा भएको अस्वभाविक वृद्धिले उद्योग व्यवसायी नै धरासायी हुने भन्दै विरोधमा उत्रिनु परेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए।