अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

प्रभावितका लागि राहात र दीर्घकालिन कार्यक्रम ल्याउछाैं : प्रधानमन्त्री

प्रभावितका लागि राहात र दीर्घकालिन कार्यक्रम ल्याउछाैं : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली नदीको बाढीबाट प्रभावित नागरिकका लागि तत्काल राहात कार्यक्रम सञ्चालन गर्ने र हरेक वर्ष आउने बाढीबाट मुक्ति पाउन दीर्घकालिन कार्यक्रम बनाउने बताउनुभएको छ ।
शुक्रबार निरीक्षणका क्रममा बाढीप्रभावित क्षेत्र कैलालीको टीकापुर पुग्नु भएको प्रधानमन्त्री देउवाले यसपटकको बाढीले सबैभन्दा बढी नोक्सानी भएको क्षेत्र मध्ये टीकापुर पनि भएकाले अर्थमन्त्री जनार्दन शर्मा र पर्यटन मन्त्री प्रेमबहादुर आलेसहित प्रत्येक्ष रुपमा हेर्न आएको बताउनुभएको छ ।
‘हेलिकप्टरबाट पनि देखिन्थ्यो तर दुःखको बेला जनतासंग प्रत्येक्ष भेटन यहाँ आएका हौं प्रधानमन्त्री देउवाले भन्न्ुभयो, ‘बास्तबिक कुरा थाहा पनि पायौ, काठमाडौंबाट आउनु अघि पनि केही राहातका कार्यक्रम दिएका छौं, फर्केर काठमाडौं पुगेपछि दीर्घकालिन कार्यक्रम र कार्ययोजना बनाउनेछौं ।’
प्रधानमन्त्रीको निरीक्षण भ्रमण कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा काँगे्रस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले कर्णालीको बाढीबाट खाद्यान्न र घरबारविहीन भएकालाई राहात र नदीले बगाएको हुलाकी सडक, शाहीपुर लगायतका क्षेत्रमा बगेको तटवन्ध जेठभित्रै सम्पन्न हुने गरी निर्माण पूरा गर्न निर्देशनका लागि प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको थियो ।
यसैगरी स्थानीय किसान मानबहादुर चौधरीले २०४० सालको बाढीपछि कर्णाली नदीको सतह नै अग्लिएको र वर्षेनी बाढीले समस्या पार्न थालेको जानकारी गराउनु भयो । रानी जमरा कुलरिया सिचाई आयोजनाबाट यस क्षेत्रमा तटबन्ध भैरहेपनि वर्षेनी निर्माणाधिन र बनेका तटबन्ध पनि भत्काएर कर्णाली गाउँ पस्ने गरेको छ । यस वर्ष कात्तिक २ गते कर्णालीमा आएको बाढीले टीकापुर नगरपालिकाको वडा नं ५ शाहीपुरमा निर्माणाधिन तटबन्ध बगेको थियो ।
प्रधानमन्त्री देउवालाई टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले ज्ञापन पत्र बुझाएर यहाँ बाढीबाट एकहजार ५९६ परिवार विस्थापित, दुई हजार ३४५ परिवार प्रभावित र आठ हजार २१४ जना विद्यालय, सडक छेउ र आफन्तकहाँ आश्रय लिएर बसिरहेकाले तत्कालिन र दीर्घकालिन राहात, सहयोग कार्यक्रम दिन प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको छ । यस्तै नेपाली कागे्रसका नगर सभापति धनराज उपाध्याय, नेकपा ९एमाले० का स्थानीय नेता मिनबहादुर कठायत, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष खडकबहादुर शाह, मुक्त कमैंया बाबूराम चौधरी, समाजसेवी लक्ष्मणकिशोर चौधरीले प्रधानमन्त्रीलाई आफ्ना तर्फबाट ज्ञापन पत्र बुझाउनुभएको छ ।
प्रधानमन्त्री देउवाले कैलालीका जानकी गाउँपालिका वडा नं ९ खैरिफाँटा, कैलारी गाउँपालिका वडा नं ७ रामपुर भुईँयाफाँटा, भजनी नगरपालिका वडा नं ७ चर्चाको पनि स्थलगत निरीक्षण गर्नुभएको छ ।
जानकी गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरीले रानी जमरा कुलरिया सिचाईको नहर भत्केर जानकी गाउँपालिकाका वडा नम्बर ९,६ र ३ मा भौतिक संरचना क्षति, नागरिकका घर, खेतीबाली क्षति भएकाले प्रधानमन्त्रीसंग राहात र क्षतिपूर्तिको माग गर्नुभएको छ । यस्तै कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले यहाँका किसानहरु कटैनी र मोहना नदिबाट वर्षेनी प्रभावित भंरहेकाले ती नदिबाट हुने क्षति नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले गतवर्ष बाढीमा परेर चार जनाको ज्यान गएको यसवर्ष तीन हजार विघाको जमिनमा लगाएको धानबाली नोक्सान भएको जानकारी गराउदै भजनी नगरपालिकालाई बाढीप्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरी राहात प्रदान गर्न माग गर्नुभयो । यस्तै बाढी प्रभावित किसानलाई खाद्यान्न, बीउ, मल अनुदान दिनुपर्ने र मोहना, कान्द्रा, पथरैया नदीमा तटबन्ध गर्नुपर्ने माग गर्नुभएको छ ।

मुख्यमन्त्री भट्ट रहात लिएर बाढी पहिरो प्रभावित क्षेत्रमा जाँदै
कार्तिक ६, ०९:३५
फिल्म शुटिंगमा चलाएको गोली लागेर छायाँकारको मृत्यु, निर्देशक गंभीर घाईते
कार्तिक ६, ०९:३५