अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

दशैंको चहलपहलसंगै सखियाको रौनक

दशैंको चहलपहलसंगै सखियाको रौनक

विभिन्न लोक नृत्य, नाचगानको धनी थारु समुदायको बसोबास रहेको गाउँमा सखियाको रौनक सुरु भएको छ ।वडादशैंको चहलपहलसंगै कैलाली, कञ्चनपुरका थारु गाउँमा सखिया नाचको रौनक सुरु भएको हो । विभिन्न गाउँमा युवतीले सखिया नाच नाच्न थालेका छन् । यो नाच विशेष गरेर दसैँ, दीपावलीमा नाच्ने गरिन्छ । सखिया नाचको सिजन यहि बेला हो ।

बम
दसैँको अवसरमा सखिया नाच नाच्न सुरु भएसंगै थारु गाउँमा छुट्टै रौनक थपिएको छ । दसैँको अवसरमा सखियाको रमझम सुरु भएको कञ्चनपुरस्थित बेलौरी नगरपालिका–१० घोडा गाउँका भलमन्सा रामनाथ चौधरीले बताए ।

‘दसैँको दोस्रो दिनदेखि हाम्रो गाउँमा सखिया नाच भइरहेको छ’, उनले भने । ‘हरेक साँझ सखिया नाच हुन थालेपछि गाउँमा रमाइलो थपिएको छ ।’

थारु समुदायमा थुप्रै नाचगान रहेको छ । जुन, सिजन र ऋतु अनुसार हुने गर्दछ । यो बेला मौलिक नृत्य सखियाको सिजन रहेको भलमन्सा चौधरीले बताए । गतवर्ष कोरोनाका कारण दसैँ, दीपावलीमा थारु बस्तीमा सखिया नाच हुन सकेको थिएन् । एक वर्षको अन्तरालपछि फेरि विभिन्न नाचकोर हुन थालेका छन्।

‘हाम्रो गाउँमा पनि गतवर्ष सखिया नाच भएन’, भलमन्सा चौधरीले अगाडि थपे । ‘यो वर्षदेखि पुनः सुरु भएको छ ।’

सखिया नाच मादलको तालमा युवतीले तालमा ताल मिलाएर सामूहिक रुपमा नाच्ने नृत्य हो । दसैँ, दीपावलीमा यो नाच विशेष गरेर साँझपख नाच्ने गरिन्छ । सुरुमा भलमन्साको घरमा र पछि गएर गाउँका अन्य व्यक्तिको घरमा गएर पनि सखिया नृत्य गर्ने गरिएको छ । आफ्नो गाउँमा भलमन्साको घरमा सखिया नाच भइरहेको धनगढी उपमहानगरपालिका–७ पटेला गाउँका अमृत दहितले जानकारी दिए । यो वर्ष कञ्चनपुरको घोडा, पिपलारी, जोनापुर, कैलालीको भादा, पटेला, गप्का लगायतका गाउँमा दसैँको सुरुवातसंगै सखिया नाच भइरहेको जनाइएको छ ।

थारु समुदायमा दसैँदेखि तिहारसम्म निकै रमाइलो गरेर सखिया नाच नाच्ने गरिन्छ । तर, पछिल्लो समय धेरैजसो थारु गाउँमा सखियाको मादल बजेको आवाजसमेत सुनिन छोडेको छ । सखिया नृत्य नगर्ने परिपाटी पनि बढ्दै गएको छ । गतवर्षदेखि भने कोरोना कारण सखिया नाच केही गाउँमामात्रै सीमित भएको छ ।

सामूहिक रुपमा गरिने नृत्य भएका कारणले कोरोना सर्ने डरले थारु बस्तीमा सखिया नाच हुन नसकिरहेको कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष कमलप्रसाद चौधरी बताउँछन् । ‘धेरै जसो मान्छे आ–आफ्नो काममा व्यस्त भएर सखिया नृत्य गर्न सक्दैनन्’, उनले भने । ‘गतवर्षदेखि कोरोनाका कारण पनि सखिया नाच कम भएको छ । किनभने, नाचगान भएमा भीडभाड भइहाल्छ ।’

थारु संस्कृतिविद अशोक थारुका अनुसार सखिया थारु समुदायको अत्यन्त लोकप्रिय मौलिक नृत्य हो । यो नाच साथी सङ्गीहरु मिलेर सामूहिक रुपमा नाच्ने गरिएकाले सखिया नाच भनिन्छ । थारु समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्दछन् । सखी सखी अर्थात साथी–साथी मिलेर नाच्ने नाच भएकोले यसलाई सखिया नाच भनिएको हो ।

सखियालाई गीतहीन सामूहिक नृत्य पनि भन्ने गरिएको छ । दशैंको खुशीयालीमा सङ्गिनीहरु आऊन भन्ने अर्थमा सखियाको प्रयोग भएको थारुको तर्क छ । दसैँ, तिहार जस्ता चाडपर्वमा सखियासंगै थारु समुदायले दिननचुवा, हुर्डुङ्वा र झुमरा जस्ता मौलिक नृत्य पनि गर्ने गरेका छन् ।

यस्तो छ रहनेछ आगामी तीन दिनको मौसम पूर्वानुमान
आश्विन २६, ०९:५१
थारु समुदायमा आज पइनस्टोपी ९ढिक्री पकाउने भाँडो० धुने दिने
आश्विन २६, ०९:५१