अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

वसन्ता जैविक मार्गको वन क्षेत्रमा गौरीगंगा नगरपालिकाले डम्पिङ साइट बाघ लगायत वन्यजन्तुको स्वास्थ्यमा प्रतिकूल असर

वसन्ता जैविक मार्गको वन क्षेत्रमा गौरीगंगा नगरपालिकाले डम्पिङ साइट  बाघ लगायत वन्यजन्तुको स्वास्थ्यमा प्रतिकूल असर

वसन्ता जैविक मार्गको सहायक मार्गका रुपमा रहेको बढैपुर–राजीपुर क्षेत्रको वनमा गौरीगंगा नगरपालिकाले डम्पिङ साइट बनाउँदा त्यस क्षेत्रमा हिँड्डुल गर्ने बाघलगायत वन्यजन्तुको स्वास्थ्यमा प्रतिकूल असर परिरेको छ।गौरीगंगा नगरपालिकाको गौरी गणेश सामुदायिक वन र हरियाली वसन्ता सामुदायिक वन पछिल्लो समयमा पाटेबाघको मुख्य बासस्थान बनेको छ। त्यही सामुदायिक वन भएर लोपोन्मुख पाटेबाघ वसन्ता जैविक मार्ग आउजाउ गर्ने गरेको छ।

बाघको हिँड्ने बाटो रहेको हरियाली सामुदायिक वनमा नगरपालिकाले मनोमानी रुपमा फोहोर फ्याँक्दा बाघ लगायत जंगली जनावरलाई असर परिरहेको संरक्षणकर्मीहरु बताउन थालेका छन्।बाघको हिँड्ने बाटोमै गौरीगंगा नगरपालिकाले फोहोर फ्याँकिदिँदा त्यसले वन्यजन्तुलाई असर गरिरहेको वन वातावरणका क्षेत्रमा क्रियाशील तथा सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले भने,‘बाघको हिँड्ने बाटो भइसकेको बढैपुर–राजीपुर क्षेत्रको जंगलमा जथाभावी फोहोर फ्याँकिदिँदा त्यसले वन्यजन्तुको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरेको छ।’

विगत आठ वर्षदेखि सो क्षेत्रको जंगलमा डढेलो नलागेको भए पनि नगरपालिकाले फोहोर फ्याँकेर सो फोहोर जलाउन प्रयोग गरिएको आगोले जंगलमा यस वर्ष डढेलो सल्केको उनले बताए। ‘सात÷आठ वर्षदेखि जंगल जोगिएको थियो,’ सापकोटाले भने,‘नगरपालिकाले जंगलमा फ्याँकेको फोहोर जलाउँदा सल्केको डढेलोले वन क्षेत्र विनास हुनुका साथै जंगली जनावरलाई प्रभावित पारेको थियो।’बाघको बासस्थान नजिकै फोहोर फ्याँकिदिँदा त्यसको दुर्गन्धले बाघ लगायत वन्यजन्तुलाई गम्भीर असर परिरहेको उनको भनाइ छ।

धानको समर्थन मूल्य तोकियो
आश्विन ७, १९:००
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता
आश्विन ७, १९:००