भारतमा रोजगारीका लागि जाने कामदारका विषयमा राष्ट्रिय मानवअधिकार आयोगले अध्ययन सुरु

भारतमा रोजगारीका लागि जाने कामदारका विषयमा राष्ट्रिय मानवअधिकार आयोगले अध्ययन सुरु गरेको छ । आप्रवासी कामदारको अवस्था र उनीहरूको हकअधिकारका बारेमा नीति निर्माणका लागि अध्ययन सुरु गरिएको हो ।आयोगले सुदूरपश्चिमबाट आप्रवासी कामदारको अवस्थाबारे अध्ययन सुरु गरेको छ । आप्रवासी कामदारले भारतमा झेल्नुपरेको समस्या, परिवारले भोगिरहेका समस्या आदीबारे अध्ययन गरिने आयोगका उपसचिव हरि ज्ञवालीले बताए ।
उनले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा अध्ययन गरिने बताए ।सुदूरपश्चिमका डोटी, डडेलधुरा, बझाङ र कञ्चनपुरमा अध्ययन सुरु गरिएको ज्ञवालीले जानकारी दिए । ‘कामको खोजीमा भारत जानेका विषयमा बुटवलदेखि दार्चुलासम्म अध्ययन गरिनेछ,’ उनले भने, ‘अध्ययनपछि यसका बारेमा आवश्यक नीति निर्माणसँगै भारतमुखी आप्रवासनलाई व्यवस्थित गर्न सरकारलाई सुझाव दिइनेछ ।
’अहिले भारतमा रोजगारीका लागि जाने नेपालीको संख्या, उनीहरूले भित्र्याउने रेमिट्यान्स, कामदारले भोग्नुपर्ने समस्या, बाटोमै लुटिने कामदारका पीडा र कामकै सिलसिलामा मृत्यु तथा बेपत्ता हुनेका अवस्थाबारे सरकार अनभिज्ञ रहेको छ । डोटी, डडेलधुरा र बझाङमा लामो समयदेखि बेपत्ता भएकाहरू धेरै भेटिएको उनले बताए ।
‘नेपालको जनसंख्याको ठूलो हिस्सा भारतमा छ, तर उनीहरू आप्रवासी कामदारको ब्यानरमा समेटिएका छैनन्,’ ज्ञवालीले भने, ‘एउटा नीति बनाएर उनीहरूलाई पनि आप्रवासी कामदारका रूपमा हेरिनुपर्छ भन्ने हाम्रो बुझाइ छ ।’