सुदूर पहाडमा हिमपात र तराइमा वर्षाको पूर्वानुमान आइतबारदेखि मौसममा क्रमिक सुधार हुने

बुधवार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीले मौसम प्रभावित हुने भएको छ। बुधवार विशेष बुलेटिन जारी गर्दै जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीवार सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली हुने जनाएको छ।
यस्तै बिहीबार नै सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
शुक्रबार देशभरी सामान्यदेखि पूर्ण बदली हुने र उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। देशका पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आइतबारदेखि मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने जनाइएको छ। मौसमी प्रणालीका कारण हवाई क्षेत्र, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभाववाट जोगिन विभागले आग्रह गरेको छ।