अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

थारु ‘माघ लहान’ र आशीर्वाद

थारु ‘माघ लहान’ र आशीर्वाद
 
facebook sharing button
twitter sharing button
messenger sharing button
pinterest sharing button
whatsapp sharing button
wechat sharing button
skype sharing button
email sharing button
print sharing button

थारु समुदायको सबैभन्दा ठूलो पर्व हो ‘माघ’ । यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघे सङ्क्रान्ति’ पनि भनिन्छ । पूर्वका थारुले ‘तिला सङ्क्राइत’ भन्छन् । बीच (कपिलवस्तु–चितवन) का थारुले खिचरा पर्व भन्छन् । दाङ पश्चिमका थारुले माघ भन्छन् । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म तराईको जिल्लामा थारुहरुको बसोबास छ । त्यहीभएर ठाउँअनुसार पर्वलाई आफ्नै शैलीमा मनाइन्छ । माघे सङ्क्रान्तिको नामले सबै नेपाली समुदायले पर्वलाई माघ १ गते मनाउँछन् । बाह्र महिनामध्ये एउटा महिना माघ हो । माघ महिनाको नामबाटै यो पर्वको नाम ‘माघ’ या माघी रहन गयो । पूर्वदेखि पश्चिमसम्मका थारु समुदाय काठमाडौं उपत्यकामा यो पर्व २०५९ देखि मनाउन थालेपछि माघी सम्बोधन गर्न थाले । विशेषगरी थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस) ले २०५९ देखि काठमाडौंमा माघी महोत्सव मनाउन थालियो । पूर्वका थारु र काठमाडौं उपत्यकामा कामविशेषले बसोबास गर्ने थारुहरुले साझा पर्वकोरुपमा माघलाई ‘माघी’ भन्न थाले । उच्चारण जे गरिए पनि पर्व ‘माघ’ नै हो । पश्चिमा थारुले यसलाई विशेष पर्व (नयाँ वर्ष) को रुपमा मनाउँछन् ।

स्वतन्त्र विश्वकोष, नेपाली विकिपिडियाले ‘माघी’ उल्लेख गरेको छ । लेखिएको छ, “माघी नेपालमा बसोबास गर्ने थारु समुदायले मनाउने प्रमुख चाड हो । माघीलाई थारुहरुको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रुपमा लिइन्छ ।” माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन थारु गाउँमा सुँगुर काट्ने प्रचलन छ । जसलाई थारुमा ‘जिता मर्ना’ भनिन्छ । सुँगुरको मासुसँग थारु परिकार ढिक्री, माछा, घोङ्घी, सिपी, गँगटा, अनदीको भात, मुरही, जाँर रक्सी परिकार खाने प्रचलन छ । पुसको अन्तिम दिन रातभरी जाग्राम बसिन्छ । त्यसरात थारुहरु दफुको साथमा ‘धमार, धुमरु’ गीत गाउँछन् । भाले नबास्दासम्म गाइने सो गीतमा थारु इतिहास, रहनसहन, खेतबारी गर्ने चेतनामूलक गीत सिर्जाइएको हुन्छ । रातभरी जाग्राम बसी गीत गाउने गायकहरुको सत्कारका लागि जाँर रक्सी र खानपानको व्यवस्था गरिएको हुन्छ । विशेष सम्मान र आतिथ्यता प्रदान गर्ने चलन छ ।

माघ लहान
माघ १ गतेलाई पवित्र दिन मानिन्छ । सुँगुर, बँगुर, हाँस, कुखुराको मासु खाने दिन पुस अन्तिम दिनमा हो । भोलिपल्ट अर्थात् माघ १ गते परम्परागत बाजागाजासहित सामुहिकरुपमा जलासयमा गई स्नान गर्ने गरिन्छ । जसलाई थारुहरुले ‘माघ लहान’ भन्छन् । नुहाउने कर्मलाई थारु भाषामा ‘लहैना’ भनिन्छ । त्यसैबाट माघ लहान भएको हो । यसदिन जलदेवतासँग पानी खरिद गरेर स्नान गरिन्छ । स्नानगर्दा पानीभित्र सिक्का छाड्छन् । जलदेवतासँग पानी खरिद गरेर नुहाउँदा वर्षभरीको पापकर्म पखालिन्छ, नष्टहुन्छ भन्ने विश्वास छ । नुहाउन जाँदा बाटोभरी धमार गीत गाउने, मघौटा नाच नाच्ने चलन छ । जसको नेतृत्व बरघर या घरमुलीले गर्छन् । गाउँभरीका सदस्यहरु सामुहिकरुपमा जलासयमा रमाइलो गर्दै स्नान गर्छन् । यो परम्पराले सामुहिकताको विकास गरेको छ । सहयोगको भावना बृद्धि गरेको छ ।

आशीर्वाद लिने प्रचलन
घरका ज्येष्ठ सदस्य तथा आफन्तबाट लामो समयपछि भेट हुँदा सम्मानस्वरुप शीर निहुरेर ढोग गर्ने र आशीर्वाद लिने प्रचलन छ । थारु समुदायमा अभिभावकको खुट्टा छोएरै आशीर्वाद लिने प्रचलन छ । गाउँघरका सदस्यले काम विशेषले देश बाहिर, गाउँ बाहिर रहँदा वर्ष दिनपछि घरमा जम्मा हुने र माघ १ गते चोखो पानीमा स्नानगरी पूर्खालाई ढोगगरी आशीर्वाद लिनुमा छुट्टै मजा छ । यसले ठूलालाई सम्मान दिन्छ र दीर्घायू तथा सुखी जीवनको मनग्य आशीर्वाद प्राप्त हुन्छ । ढोग आशीर्वादले एक अर्कालाई जोडेको छ । ठूलाको सम्मान र सानाको माया यसमा अन्तरनीहित छ । यसले व्यक्ति–व्यक्तिलाई मात्र जोड्ने होइन, समाज र देशलाई जोड्छ । मनमा शान्ति भएपछि समाजमा शान्ति कायम हुन्छ । समाजमा शान्ति भएमा देशमा शान्ति आउँछ ।

थारुहरुले माघ १ गते स्नान गरेपछि ठूलाको आशीर्वादका लागि चामल, नुन, दाललाई साक्षी राख्छन् । घरको देवता कोठा (दिहुरार) मा गुन्द्रीमा अलग–अलग ती सामान राखिएका हुन्छन् । स्नान गरेर घरमा आएपछि पहिले चामल, नुन र दाललाई छोएर पाँच–पाँच अञ्जुली अलग भाँडामा राख्छन् । त्यसपछि मात्र आफूभन्दा ठूलाको आशीर्वाद थाप्छन् । नजिकमा मठ मन्दिर वा देवालय भएका गाउँका सदस्यले चोखो मनले भगवानको पूजा गर्छन् । पूर्खाको आशीर्वादले वर्षभरी सुख, शान्ति, प्रगतिको आशीर्वाद प्रदान गर्छन् । घरका सदस्यले गाउँका सबै अभिभावककहाँ गएर आशीर्वाद लिने प्रचलन छ । यो प्रचलनले एकअर्कासँग सम्बन्ध प्रगाढ बनाउने भूमिका खेल्छ । ढोग आशीर्वाद पछिमात्र सामुहिक खानपिन गरिन्छ । सुख दुःखका कुरा साटासाट गरिन्छ ।

चेलीबेटीलाई निसराउ
माघ १ गते थारुहरुले विवाहित चेलीबेटीलाई विशेष उपहार दिन्छन् । यसलाई थारु भाषामा ‘निसराउ’ भनिन्छ । नुहाएर घर आएपछि घरमा सगुनको रुपमा छोएको चामल, नुन र दाल नै निसराउ हो । त्यसमा थपेर चेलीबेटीलाई उपहारको रुपमा प्रदान गरिन्छ । आजभोलि थारुहरुमा नगदसहित निसराउ दिने प्रचलन बढ्दैगएको छ । माघी पर्वमा विवाहित चेलीलाई अनिवार्य माइत ल्याइन्छ । माइत आएका चेलीहरु फर्कनेबेलामा निसराउ लिएर फर्किन्छन् । कुनै कारणबस माइत आउन नपाएका चेलीलाई घरका सदस्यले निसराउ दिन चेलीबेटीको घरमा जान्छन् । निसराउ दिने प्रचलनले घरका सदस्य र विवाहित चेलीबीचको सम्बन्धलाई प्रगाढ बनाउँछ । नाता कुटुम्बलाई जोड्ने काम गर्छ । त्यसैले निसराउ (उपहार) दिने चलनलाई महत्वका साथ हेरिन्छ ।

सम्बन्ध जोड्ने पर्व
माघी पर्वले एकअर्काबीच भएको तिक्तता हटाउँछ । कसैसँग रिइस्बी भएको छ भने माघ १ गते जलासयमा स्नान गरी एकापसमा अङ्कमाल गर्नाले वर्षभरीको रिसइबी हट्ने र नयाँ सम्बन्ध कायम हुने विश्वास गरिन्छ । चोखो पानीमा स्नान गर्नाले शरीरको रोग, विमार हट्ने र वर्षभरीको पाप पखालिने विश्वास गरिन्छ । त्यसैले माघ पर्वलाई मेलमिलापको पर्व मानिन्छ । एकअर्कालाई ढोग आशीर्वाद लिने प्रचलनलाई थारुहरुले ‘सेवा सलाम लग्ना’ भन्छन् । यसोगर्दा गाउँका सदस्यबीच एकता, मित्रता र आपसी सहयोगको भावनामा बृद्धि हुन्छ ।

नयाँ वर्ष
थारु सम्बत्अनुसार यो माघ २६४६ औं हो । माघ पर्वलाई थारुहरुले नयाँ वर्षको रुपमा मनाउँछन् । कारण– पुस मसान्तसम्म आफ्नो लेनदेन, हरहिसाव गर्छन् । माघ १ गतेदेखि नयाँ खाता सुरु गर्छन् । वर्षदिन गरेको कामको लेखाजोखा, हिसावमिलान तथा गाउँको काम गर्नका लागि नियुक्त गरिएकाहरुको पारिश्रमिक भुक्तान गर्छन् । माघ १ गतेदेखि नयाँ नियुक्ती गर्छन् । गाउँ सञ्चालन गर्न बरघर, गुरुवा, चिरक्या, घरमुली, अघारी, चौकीदार, कुलापानी गर्ने व्यक्ति, फलामको काम गर्ने व्यक्ति, गोठालो आदिको नयाँ नियुक्ती हुन्छ । जवान भएका छोराछोरीको विवाहको काम पनि माघ महिनाबाटै सुरु हुन्छ । वर्षदिनका लागि नयाँ योजना बनाउने र त्यसको कार्यान्वयनका लागि जिम्मेवारी सुम्पने काम हुने भएकाले थारुहरुले यस पर्वलाई नयाँ वर्षको रुपमा मनाउँछन् ।

थारुहरुले माघी पर्वका लागि महिना दिनसम्म तयारी गर्छन् । खाने चामलदेखि, पैसाको जोहो, ढिक्रीलगायतका परिकार बनाउने सामग्री, तेल, नुन, खुर्सानी सबै चिजको जोहो गर्छन् । मासुका लागि सुँगुर बँगुर खोज्नेदेखि खोलामा गएर माछा मार्ने, घोङ्घी, गँगटा, सीपी खोज्नेसम्मको तयारी गर्न महिना दिनको समय चाहिन्छ । जिल्लामा माघी महोत्सव, खिचरा महोत्सव, तिला सङ्क्राइत महोत्सव गर्ने प्रचलन छ । यसले थारु समुदायको कला संस्कृतिको जगेर्ना गर्छ । अर्कोतर्फ आफ्नै घरमा उत्पादित् परिकार बिक्री गरेर आम्दानी पनि गर्छन् । माघ पर्वको बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रचार प्रसारले पर्यटन क्षेत्रको प्रवर्धनमा पनि सहयोग पुगेको छ । यो पर्वमा विशेषगरी मघौटा नाच, छोक्रा, हुरदङ्ग्वा नाचिन्छ । थारुहरुले पुसको अन्तिम दिन जिता मार्ने, माघ १ गते लहान गर्ने, २ गते खिचडी भात खाने र साताभरी रामरमाइलो गर्छन् । माघी महिनामा थारु गाउँमा मेला महोत्सव लगाउने प्रचलन बढ्दैगएको छ । त्यसले स्थानीय उत्पादनको व्यापार पनि बढेको छ ।

विमान दुर्घटना : ६८ जनाको शव फेला
माघ १, १९:४२
Table Portal Evaluations – What to anticipate in a Panel Portal
माघ १, १९:४२