अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

साझा मुद्दा सदनमा बुलन्द गर्ने सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुको प्रतिवद्धता

साझा मुद्दा सदनमा बुलन्द गर्ने सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुको प्रतिवद्धता

थारु समुदायबाट प्रतिनिधित्व गर्नु हुने सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरुले आफ्नो समुदायको साझा मुद्दा प्रदेश सदनमा उठाउने प्रतिवद्धता जनाएका छन् ।थारु कल्याणकारिणी सभा लगायत १४ वटा जातिय संघ, संस्थाले शनिबार धनगढीमा आयोजना गरेको बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा उनीहरुले साझा मुद्दाबारे सदनमा आवाज बुलन्द पार्ने प्रतिवद्धता जनाएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीको प्रमुख सचेतकसमेत रहनु भएका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले अब सडकमा नभइ थारु समुदायको आवाज सदनमा बुलन्द गर्ने बताए । उनले टीकापुर घटनापछि राज्यले थारु समुदायलाई जबरजस्ती अपराधी बनाउने कार्य गरेको भन्दै अगाडि थपे,‘कुनै पनि समुदायलाई एकतर्फी पेलेर विकासको कल्पना गर्न सकिन्न ।’ टीकापुर घटना राजनीतिक रहेकाले मुद्दा खारेजी हुनु पर्ने आफ्नो पार्टीको जोड रहेको उनकोे भनाइ थियो ।

राज्यले नीतिगत रुपमा थारुमाथि विभेद गर्ने कार्य गरिरहेको भन्दै चौधरीले नीति निर्माण गर्ने ठाउँमा आफूहरु पुगेकाले सुधारका लागि प्रयत्न गर्ने उल्लेख गरे । ‘हामी राजनीतिमा लाग्नु नै एउटा विद्रोह हो’, चौधरीले भने,‘अब हाम्रो समुदायको आवाज प्रदेश र प्रतिनिधि सभामा बुलन्द हुन्छ ।’यस्तै, अर्का प्रदेश सभा सदस्य खुशीराम डङ्गौरा थारुले साझा मुद्दामा सबै एक हुनु पर्ने भन्दै न्यायका लागि संघर्ष गरिरहने बताए ।

अर्का प्रदेश सभा सदस्य घनश्याम चौधरीले विकासको साझा सपना आफूहरुले पूरा गर्ने बताए ।यसैगरी, प्रदेश सभा सदस्य कोइलीदेवी चौधरीले थारुहरु जुनसुकै पार्टीमा भए पनि थारु समुदायको साझा मुद्दामा एक रहेको बताइन् । ‘जनताले हामीलाई जुन उद्देश्य लिएर पठाएका छन्, त्यसका लागि हामी तत्पर छौं’, उनले भनिन् ।

कार्यक्रममा थारु समुदायको १२ बुँदे साझा मुद्दा प्रदेश सभा सदस्यहरुलाई हस्तान्तरण गरिएको छ । प्रतिनिधि सभा सदस्यहरुको कार्यक्रममा अनुपस्थिति भएकाले प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीमार्फत उहाँहरुलाई पनि माग, मुद्दा हस्तान्तरण गरिएको छ । थारु कल्याणकारिण सभा कैलालीका कार्यबाहक सभापति माधव थारुले नवनिर्वाचित प्रदेश सभा सदस्यहरुलाई साझा माग, मुद्दाको फाइल हस्तान्तरण गर्नु भरेका थिए ।

कार्यक्रमका सहभागीहरुले टीकापुर घटना थारु समुदाय लागिको सबैभन्दा प्रमुख र साझा मुद्दा रहेको बताए । उनीहरुले राजनीतिक आन्दोलनको क्रममा भएको घटनालाई राजनीतिक रुपमै समाधान र मुद्दा खारेज हुनु पर्नेमा जोड दिए ।कार्यक्रममा थारु नागरिक समाज कैलाली संयोजक दिलबहादुर चौधरीले ध्यानाकार्षण पत्र बाचन सहित सांसदहरुलाई ध्यानाकार्षण गराएका थिए ।

कार्यक्रममा थरुहट नेता लक्ष्मण थारु, थाकस कैलालीका कानूनी सल्लाहकार अधिवक्ता जोहारी लाल चौधरी, नेपाल आदिवासी जनजाति महासंघ सदुरपश्चिम प्रदेश समन्वय समितिका कानूनी सल्लाहकार अधिवक्ता नाथुराम महतो, धनगढी नगर भलमन्सा समितिका अध्यक्ष रोहित चौधरी लगायत मनत्ब्य राखेका थिए ।

जिसस कैलालीका प्रमुख पदम बहादुर कलेलको निधन
पुष २४, ०७:५८
मौसममा अझै सुधार भएन, तराईको तापक्रम पाँच डिग्रीमा झर्यो
पुष २४, ०७:५८